लिभरपुललाई प्रिमियर लिगको उपाधि

काठमाडौं। लिभरपुलले यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ।

आइतबार टोटेनहम हटस्परमाथि ५–१ को पुनरागमन जित निकाल्दै लिभरपुलले उपाधि जितेको हो।

टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे। तर त्यो अग्रतालाई‌ जोगाउन टोली असफल रह्यो।

घरेलु टोलीका लागि लुइस डियाजले १६औं‌ मिनेटमा बराबरी गोल फर्काए। त्यसको ८ मिनेटपछि एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो। ३४औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३–१ को अग्रता कायम गर्यो। ६३औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको लागि चौथो गोल गरे। लिभरपुलले सिजनका चार खेल अघि नै लिगको उपाधि जितेको हो।

लिभरपुलको ३४ खेलमा ८२ अंक भएको छ। लिभरपुल हाल दोस्रो स्थानमा रहेको आर्सनल भन्दा स्पष्ट १५ अंकले अगाडी रहेको छ।

लिभरपुलले सबैभन्दा बढी २० पटक लिग जित्ने म्यानचेस्टर युनाइटेडको रेकर्डको बराबरीसमेत गरेको छ। लिभरपुलले पछिल्लो पटक २०१९-२० सिजनको लिग जितेको थियो।

त्यस्तै म्यानचेस्टर युनाइटेडले भने पछिल्लो पटक २०१२-१३ सिजन जिते यता प्रिमियर लिग जित्न सकेको छैन।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको