काठमाडौं । गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ ।
ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रबार भएको महिलातर्फकाे खेलमा गण्डकीले मधेश प्रदेशलाई २–१ ले पराजित गर्याे । गण्डकीको जितमा मयुरी राईले दुई गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले एक गोल फर्काए पनि हार टार्न सकिनन् ।
राउन्ड रोविन लिगको आधारमा भैरहेको महिलाको प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो । महिलामा गण्डकीसहित त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेश गरी चार टोली सहभागी छन् । लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।
लिगमा दुई जित निकाल्दै गण्डकीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बिहीबार पहिलो खेलमा गण्डकीले बागमती प्रदेशलाई २–१ गोलले हराएको थियो । मधेसको भने दोस्रो हारपछि लिगमा शीर्ष दुई स्थानमा पुग्ने सम्भावना कमजोर भएको छ । मधेसले पहिलो खेलमा आर्मीसँग ७–० को हार सामना गरेको थियो ।


