राखेपद्वारा लामालाई प्रशिक्षक नियुक्तिका लागि सिफारिस


काठमाडौं, भदौ २० गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दोकी पलेशा गोबर्धनका प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरेको छ। राखेपले युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गरेको हो।

विगतमा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी तथा उनीहरुका प्रशिक्षकलाई सफलताको कदर गर्दै राखेपमा सेवा गर्ने गरी नियुक्ति दिने प्रचलन थियो।

अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा प्रशिक्षकका रुपमा हालसम्म नेपाललाई ११ पदक दिलाएका छन्। त्यसमा ३ स्वर्ण, २ रजत र ३ कांस्य रहेको छ। लामा स्वयंसेवक प्रशिक्षक हुन्।

पेरिस पारालिम्पिकमा नेपालले जितेको कांस्य नेपाली खेलकुद इतिहासकै अहिलेसम्मको ठूलो उपलब्धी हो। पेरिस पारालिम्पिकअघि कुनैपनि ओलम्पिकमा नेपालले हालसम्म पदक जित्न सकेको थिएन। नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको थियो।

राखेपले पेरिस पारालिम्पकमा पदक जित्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र नेपाल तेक्वान्दो संघलाई राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा व्यवस्था भए अनुसारको नगद पुरस्कारका लागि पनि सिफारिस गरिसकेको छ। पेरिस पारालिम्पिकमा पलेशाले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको