ललितपुर। दोस्रो संस्करणको उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको उपाधीका लागि आयोजक गोदावरी नगरपालिका र साविक विजेता काठमाडौं महानगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ।
फाइनल खेल शुक्रबार दिउँसो साढे ३ बजे गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा हुनेछ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनको गोदावरी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको काठमाडौंबीचको खेललाई गजेन्द्र र बालेन्द्रको प्रतिस्पर्धाका रुपमा लिइएको छ।
आयोजक गोदावरी, दक्षिणकाली नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै तथा काठमाडौं कीर्तिपुर नगरपालिकालाई ३–० ले हराउँदै फाइनलमा पुगेका हुन्।
दोस्रो पटक उपाधी जित्ने धुनमा रहेको काठमाडौंले समूहचरणमा चाँगुनारायणलाई ५–० ले तथा मध्यपुर ठिमीलाई १–० ले हराएको थियो। आफ्नै घरेलु मैदानमा खेलेर पनि अघिल्लो संस्करणमा पराजित भएको गोदावरीका लागि घरभित्रै उपाधी राख्ने सुनौलो अवसर छ।
गोदावरीले समूह चरणमा महालक्ष्मीलाई ६–१ ले, बाग्मतीलाई ७–० ले ललितपुर महानगरसँग १–१ गोलको बराबरी खेलेको छ।
