
काठमाडौँ । तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी छिन्।
पेरिस पारालिम्पिक २०२४ मा शुक्रबार भएको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै उनले कांस्य जितेकी हुन्। योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो खेलाडी बनेकी छन्।
पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्। तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेसविरुद्ध खेल १०–८ ले गुमाएकी थिइन्।
दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन्। जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी कांस्यनजिक पुगेकी थिइन्।
पलेशा छनोटचरण पार गर्दै पेरिस पारालिम्पिक नेपालको प्रतिनिधित्व गरेकी हुन्। गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्।