
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोबर्धनलाई आइतबार नगदसहित सम्मान गरेको छ।
पलेशासहित पेरिस पारालिम्पिकका तेक्वान्दो टोलीलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो। पलेशालाई नगद ५ लाखसहित प्रशंसा पत्र प्रदान गरियो। प्रशिक्षक कविराज नेगी लामा १ लाख ५० हजार तथा पेरिस पारालिम्पकमै सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए। व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो संघलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो।
टोलीलाई सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरे।