आइटिएफ महासंघको २७औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २७औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।

लाजिस्पाटस्थित सम्पदा गार्डेनमा प्रवीणकुमार कार्कीको अध्यक्षतामा २७औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य डा. संशाक कोइरालाले उक्त साधारणसभाको उद्घाटन गरेका थिए । सो अवसर कांग्रेस नेता कोइरालाले देशले सफलता पाउन तीन तहकै सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ पूर्वअध्यक्ष एवम् एसिया आइटिएफका कार्यकारी सदस्य अन्जन धमला, नेपाल राष्ट्रिय मार्सल आटर्स गेम्स कमिटीका महासचिव रूपसिं मोक्तान र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्र घर्तिमगरको उपस्थिति रहेको थियो ।

बन्द सत्रमा अध्यक्ष प्रवीणकुमार कार्कीको वार्षिक तथा सागंठानिक प्रतिविदेन पास भएको थियो । साधारणसभाले महासंघ कोषाध्यक्ष विक्रम बाठामगरको आर्थिक प्रतिवेदन पनि सर्वसम्मत पास ग¥यो । कार्यक्रममा महासचिव घमबहादुरले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । उक्त साधारणसभामा ९१ जिल्ला र प्रदेश गरी कुल ९१ जना प्रतिनिधिले सहभागी जनाएका थिए । सो अवसरमा महासंघले यसै वर्ष अन्तर्राष्ट्रिय अम्पायर कोर्ष आयोजना र देशका विभिन्न ठाउँमा समयअनुकुल राष्ट्रिय प्रतियोगिता गर्ने लगायत विभिन्न कार्यक्रमसमेत प्रस्तुत गरेको छ ।

महासंघका अध्यक्ष कार्कीले नेपाललाई विश्वमाझ पहिचान दिलाउन सबैभन्दा उत्तम माध्यम खेलकुद रहेको उल्लेख गर्दै राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । विश्वलाई नै एकै ठाउँमा उभ्याउन खेलकुद बाहेक कुनै क्षेत्रले नसक्ने भन्दै उनले खेलकुदको माध्यमबाट देशले अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार गर्नुपर्ने धारणा राखेका छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको