काठमाडौं । नेपाल टेनिस संघले डेविस कप (एसिया÷ओसिएना क्षेत्र) मा सहभागी हुने ५ पुरुष खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ ।
नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा हुने प्रतियोगितामा सहभागी हुन टोली आइतबार प्रस्थान गर्ने छ । टिम स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगितामा अभिषेक बाँस्तोला, प्रदिप खड्का, प्रणव खनाल, प्रणव मानन्धर र रितक राणाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा शरद् लामा र व्यवस्थापकमा रुपन्देही जिल्ला टेनिस संघका अध्यक्ष गोपालप्रसाद ज्ञवाली छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, उपाध्यक्ष केशवराज पाण्डे, सचिव मालिका राणा बस्न्यात र सदस्य अजय विष्टले सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतियोगितामा १५ राष्ट्रको सहभागिता रहने टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । टिम स्पर्धामा २ सिंगल्स र १ डबल्स खेल हुनेछ ।


