ललितपुर । ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता पाटनको गःछें टोलमा बुधबारदेखि सुरु भएको छ।
प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गर्दै ललितपुरमा टेबलटेनिसको राम्रो माहोल रहेको बताए।
‘ललितपुरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने धेरै राम्रो खेलाडी छन्। ललितपुरमा टेबलटेनिसको माहोल पनि राम्रो छ।’ मेयर महर्जनले भने– ‘अझ यो प्रतियोगिता रात्रीकालीन भएकाले सबै उमेरसमूहका खेलाडीको रुची यसप्रति बढ्दै गएको मैले पाएको छु।’
प्रतियोगितामा ललितपुर महानगरपालिकाका २९ वडा मध्ये २५ वडाबाट ६ सय ३७ खेलाडीको सहभागिता रहेको ललितपुर महानगरपालिकाका प्रवक्ता समेत रहेका आयोजक वडा ९ का अध्यक्ष राजु महर्जनले जनाएका छन्।
प्रतियोगितामा १६ स्पर्धा समावेश छन्। सबैमा नगद पुरस्कार राखिएको छ। कुल पुरस्कार राशी ३ लाख ६८ हजार रुपैयाँ रहेको प्रतियोगिता संयोजक सन्जु अवालेले जानकारी दिए।
टिम च्याम्पियन बन्न सफल वडालाई रनिङ सिल्ड पनि प्रदान गरिने छ। प्रतियोगिताको अनुमानित बजेट करिब २१ लाख ८३ हजार रुपैयाँ रहेको निकेश जोशीले जनाएका छन्।


