विराटनगर। सुनसरी जिल्लाले कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ।
प्रदेश खेलकुद विकास बोर्ड (कोशी प्रदेश) को संयोजन तथा कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनमा शनिबार र आइतबार भएको प्रतिस्पर्धामा नौ स्वर्ण, दुई रजत र दुई कांस्यसहित कुल १३ पदक जित्दै सुनसरी पहिलो भएको हो।
यस्तै, ६ स्वर्ण, तीन रजत र पाँच कांस्यसहित कुल १४ पदक जितेको मोरङ दोस्रो भयो। चार स्वर्ण, पाँच रजत र ६ कांस्यसहित कुल १५ पदक जितेको झापा तेस्रो भयो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ मोरङका मन्जित राजवंशी र महिलातर्फ सुनसरीकी एलिजा राई घोषित भइन्। दुवै जनाले ट्रफी र मेडल पाए। प्रतियोगिताका विजेता खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।
शनिबारबाट विराटनगर ९ पुरानो गुद्रीमा सुरु भएको प्रतियोगिता कोशी प्रदेशका नौ जिल्लाका १३५ जना खेलाडीहरूको सहभागिता थियो। प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए।
उद्घाटन तथा समारोहको सभा अध्यक्ष नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघका अध्यक्ष तथा कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघका संस्थापक अध्यक्ष प्रविणकुमार कार्कीले गरेका थिए।