स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस मनाइयो


काठमाडौँ, चैत २४ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आइतबार विश्व शान्तिको प्रतीक स्वयम्भूको विश्व स्तुपामा दिप प्रज्ज्वलन गरी स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस मनाएको छ।

एनओसीले पछिल्ला वर्षमा स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवसमा प्रत्येक वर्ष लुम्बिनीमा मनाउँदै आएको थियो। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले हरेक वर्ष लुम्बिनीमा यो कार्यक्रम आयोजना गर्दै आएको तर यस वर्ष लुम्बिनीमा पिस म्याराथन र इन्टरनेसन योग दिवस अगाडि नै आयोजना भएकोले यसपटक बुद्ध स्तुपाको अगाडि यो दिप प्रज्ज्वल कार्यक्रम गरेको बताउनुभयो। पाँच महादेशलाई प्रतिनिधित्व गर्ने ओलम्पिकको पाँच रिङ बनाएर दिप प्रज्वलन गरिएको हो।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइसिसी)को प्रस्तावमा संयुक्त राष्ट्र संघको आह्वानमा खेलको माध्यमबाट विकास र शान्तिको लागि खेलकुद भन्ने संकल्पसहित विश्वमै यो कार्यक्रम मनाउँदै आएको जानकारी पनि एनओसी अध्यक्ष श्रेष्ठले दिनुभयो। ‘नेपाल बुद्धको जन्मको देश, बुद्धले विश्वमा शान्तिको सन्देश दिने काम गरेकोले पनि स्वयम्भूका विश्व स्तुपाको अगाडि यो कार्यक्रमको आयोजना गरेका हौँ’ अध्यक्ष श्रेष्ठको भनाइ छ। सो अवसरमा उहाँले खेलको माध्यमबाट समाजलाई रुपमान्तरण र विकास गर्न सकिन्छ, शान्तिलाई दिगो बनाउन सकिन्छ तथा समझदारी बढाउन सकिन्छ भन्ने खेलकुदको उद्देश्य र भूमिकालाई स्मरण गर्दै यो कार्यक्रमको आयोजना गरेको जानकारी पनि दिनुभयो।

स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा एनओसी परिवारका साथै राष्ट्रिय संघका अध्यक्ष तथा पदाधिकारी, खेलाडीहरु, जनप्रतिनिधि, स्थानीय क्लब र जनसमुदायको उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको