काठमाडौं । नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले शनिवार खेल पत्रकारहरुलाई सम्मान गरेको छ ।
नेपाल ब्यायाम मन्दिरद्वारा आयोजित आठौ निलकण्ठ मानन्धर स्मृति पावरलिफ्टिंग प्रतियोगिता तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा विभिन्न सञ्चारमाध्यममा क्रियाशील पाँच जना पत्रकारहरुलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा मेरो खेल डट कमका प्रधान सम्पादक तथा वरिष्ठ सञ्चारकर्मी श्रीविक्रम भण्डारी, नयाँ पत्रिका राष्ट्रिय दैनिकका श्रीलोचन राजोपाध्याय, गोरखापत्र अनलाइनका गोविन्द रेग्मी, सेतोपाटी अनलाइनका सिताराम कोइराला र अनलाईन खबर डट कमका गोबिन्द राज नेपाल सम्मानित भएका हुन ।
ब्यायाम मन्दिरले लामो समयदेखि पत्रकारीता मार्फत खेलकुदको विकास र विस्तारमा योगदान गर्नुका साथै आफ्नो लेख र समाचारमार्फत नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने नेपालकै सम्मानित र पुरानो प्रतियोगिता धर्मश्रीको प्रचार प्रसारमा योगदान गरेबापत सम्मान गरेको हो । सम्मानित हुने सञ्चारकर्मीहरुलाई नगद १० हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।
त्यस्तै सोहि कार्यक्रममा शारीरिक सुगठन तथा ब्यायाम मन्दिरको बिकास र विस्तारमा लामो समय देखि योगदान पुर्याउँदै आएका पूर्व एआईजी विजयलाल कायस्थलाई पनि ५५ हजार ५ सय ५५ नगद सहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । वि.सं २०३८ सालदेखि नेपाली बडी बिल्डिंग क्षेत्रमा सक्रिय उहाँ नेपाल बडी बिल्डिंग महासंघका प्रथम उपाध्यक्ष समेत हुनुहुन्छ ।
सो कार्यक्रममा संस्थाको सन्तती सम्मानबाट ब्यायाम मन्दिरका उपाध्यक्ष अनिललाल श्रेठका छोरी अनुष्का श्रेष्ठ, ब्यायाम मन्दिर सञ्चालक समितिका सदस्य ज्ञानेन्द्र नकर्मीका सुपुत्र रोजिन नकर्मी तथा ब्यायाम मन्दिरका पूर्व अध्यक्ष तथा धर्मश्री प्रतियोगिताका परिकल्पनाकार स्वर्गीय सरोज कुमार श्रेष्ठका छोरा रोबर्ट श्रेष्ठलाई विभिन्न क्षेत्रमा योगदान पुर्यायबापत नगद १० हजार सहित सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथी काठमाण्डौ महानगरपालिकाका प्रवक्ता तथा कामपा १७ वडा अध्यक्ष नवीन मानन्धर सहित नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, ब्यायाम मन्दिर सल्लाहकार समितिका संयोजक एवं प्रथम मिस्टर नेपाल शिवलाल श्रेष्ठले सम्मान पत्र तथा पुरस्कार प्रदान गरे ।


