स्कटल्याण्डले नेपाललाई दियाे २९७ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई २ सय ९७ रनको लक्ष्य दिएको छ ।

डुन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रन बनायो ।

उसका लागि चार्ली टियरले उत्कृष्ट पारी खेले । उनले ७२ बलमा १२ चौका र एक छक्कासहित ८० रनको पारी खेलेका हुन् ।

यस्तै, फिनले म्याकक्रियाथले ५५, कप्तान रिची बेरिङ्टनले ४०, म्याथ्यू क्रसले ३९, ब्रेण्डन म्याकमुलेनले १९, माइकल लिस्कले १८ तथा जर्ज मुन्सेले १२ रन जोडे ।

नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले दुई/दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए । यो सिरिज लिग–२ अन्तर्गत ८ टोलीबीच हुने विश्वकप २०२७ छनोट प्रतियोगिताको महत्वपूर्ण चरण हो ।

लिगको अन्तिममा शीर्ष चार स्थानमा रहने टोलीले सिधै विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछन् भने पछिल्ला चार टोलीले विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने बाध्यता हुनेछ ।

हालसम्म १२ खेलमा ६ अंकसहित नेपाल लिग तालिकाको पुछारमा रहेको छ । त्रिकोणात्मक सिरिजमा नेपालसँगै घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्ड्स पनि प्रतिस्पर्धामा छन् ।

स्कटल्याण्ड १६ खेलमा २० अंकसहित चौथो स्थानमा छ भने नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको