अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै नेपाल


काठमाडौं। स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजकाे अन्तिम खेलमा पाहुना टाेली नेपालले आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र स्कटल्यान्डबीच हुने अन्तिम खेल शुक्रबार (आज) साँझ ७ः४५ बजे सुरु हुनेछ ।

तीन खेलमा दुई जित एक हारको सामना गर्दै शीर्ष स्थानमा उक्लिएको नेपाल स्कटल्यान्डलाई हराउँदै सिरिज उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ। अन्तिम खेल बाँकी हुँदा नेपाल र नेदरल्यान्डसको समान चार अंक भए पनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा छ।

नेदरल्यान्डस दोस्रो स्थानमा छ भने तीनमा दुई खेलमा पराजित भएको स्कटल्यान्ड दुई अंकसहित तालिकाको पुछारमा छ।

सिरिजको पहिलाे खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो। तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हरायो भने चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पराजित गर्यो। पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल शीर्ष स्थानमा पुगेको हो।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टिमका नियमित खेलाडी सोमपाल कामी, गुल्सन झा र नन्दन यादव घाइते हुँदा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमदले अवसर पाइरहेका छन्। नेदरल्यान्डसविरुद्धको खेलमा भीम सार्कीले बिहीबार टी-२०मा डेब्यु गरेका छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको