काठमाडाैँ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टी-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग हुने भएको छ।
सोमबार काठमाडौंको एभ्रेस्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिताको बारेमा जानकारी दिएका हुन्।
प्रतियोगिता असोज १५ गते देखि असोज २४ गते सम्म काठमाडौको तल्लो मुलपानी मैदानमा हुनेछ। प्रतियोगितामा सात टीमको सहभागीता रहनेछ भने प्रतियोगितामा कुल २४ खेल हुनेछ। सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन्।
लिगको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगितामा सहभागिताको लागि टिम खरिद गर्नु पर्ने र खेलाडीको अक्सन हुनेछ। प्रतियोगिताको विजेता टोलिले २१ लाख रुपैँया प्राप्त गर्नेछन् भने उप-विजेता टोलिले ११ लाख रुपैँया प्राप्त गर्नेछन्।
प्रतियोगिताका अध्यक्ष ज्ञानु सिंहले यो लिगले उदीयमान प्रतिभाको लागि बलियो र समावेशी प्लेटफर्म निर्माण गरेर ग्रासरुट क्रिकेटलाई विकाश गर्ने बताए।
प्रतियोगिताले नेपालमा क्रिकेट खेलको विकाशमा अझ टेवा पुग्ने उद्देश्य राखेको छ।
त्यसै गरी एनएसपीएलले चर्चित अभिनेता निखिल उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडरको रुपमा घोषणा गरेको छ।
नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका सुपरस्टार निखिल उप्रेती पर्दामा आफ्नो शतिशाली डाइलग डेलिभरी तथा एक्सनले चर्चित छन् भने पर्दा बाहिर पनि आफ्नो बौद्धिकता र व्यक्तित्वले चिरपरिचित छन्। ब्राण्ड एम्बेसेडरको रूपमा एनएसपीएलमा आबद्ध हुन पाउदा उनलाई अत्यन्त खुसी र गर्व महसुस भएको बताए।


