इन्डोर कर्पोरेट लिगको दोस्रो संस्करण भदौ दोस्रो साता


काठमाडौं। इन्डोर कर्पोरेट लिगको दोस्रो संस्करण भदौ दोस्रो साता हुने भएको छ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजक भेट्रान्स फोर्टी क्लबले लिगका बारेमा जानकारी गराएको हो। भाद्र १३ देखि १६ सम्म चल्ने इन्डोर क्रिकेट प्रतियोगिता बुुढानिलकण्ठ नगरपालिकाको चुनिखेलस्थित रोयल स्पोर्टस पार्कमा हुनेछ।

टी-१० फर्म्याटमा हुने प्रतियोगितामा कूल २० टोलीको सहभागिता रहने छ। यी टोलीलाई चार समूहमा विभाजन गरिनेछ ।

लिग कम नकआउट पद्धत्तिमा सञ्चालन हुने प्रतियोगिताको विजेता र उपविजेताले आकर्षक पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै विधागततर्फ उत्कृष्ट हुनेले विशेष पुरस्कारसहित विदेश भ्रमणको पनि व्यवस्ता रहेको आयोजकले बताएको छ।

आयोजकले दुई हप्ताभित्र सहभागी टोलीको टुंगो लगाउने जानकारी गरायो। यी टोलीले भ्याटसहित ६० हजार रुपैयाँ दर्ता शुल्क तिर्नुुपर्नेछ । सहभागी टोलीका खेलाडी कम्तिमा पनि २० वर्ष पुुगेको हुनुपर्ने नियम लागू गरेको छ ।

‘प्रतियोगिताको पहिलो संस्करण हामीले सफलताका साथ सम्पन्न गर्यौँ । यसपाली विगतभन्दा पनि भव्य गर्ने योजना छ,’ भेट्रान्स फोर्टीका अध्यक्ष सन्तोष भण्डारीले भने, ‘पहिलो संस्करण हामीले उमेर हद तोकेका थिएनौं । जसका कारण १५-१६ वर्षका खेलाडीले टोलीको जितमा निर्णायक भूमिका खेले । त्यसैले यसपाली हामीले उमेर हद तोकेका हौं ।’

आयोजकले प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ लागत छुट्याएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको