काठमाडौं। नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज ‘इन्डोर सुपर लिग’ क्रिकेट प्रतियोगिताका लागि खेलाडी अक्सन कार्यक्रम यही सोमबार हुने भएको छ।
भदौ २ गते, अपरान्ह २ बजेबाट सुरु हुने अक्सन कार्यक्रम काठमाडौँको संखमुलस्थित अनमोल क्याटरिङमा आयोजना गरिने छ। कुल ८ वटा फ्रेन्चाइज टोलीले खेलाडी चयन गर्ने यस अक्सनमा तीन विभिन्न ग्रेडमा वर्गीकृत गरी खेलाडीहरूलाई लिलामीमा राखिनेछ।
अक्सनमा सहभागी ८ टोलीहरूमा मिक्समाण्डु, हिमालयन टाइटान्ज, माया हेटौंडा रोयल्स, याला नाइट्स , हाइल्यान्ड योर्कर, गेटसेटगेम अल स्टार्ज, अल्फा वारियर्स र अनमोल पायनियर्स रहेका छन्। सबै टिममा मार्की खेलाडी समेत रहनेछन्।
खेलाडीलाई तीन ग्रेड ( ए, बि र सी ) मा वर्गीकृत गरिएको छ। ग्रेड ए मा २५ जना राष्ट्रिय स्तरमा नेपालको तर्फबाट उमेर समुह तथा सिनियर टोलीमा खेलेका खेलाडीहरू रहेका छन्। यस ग्रेडका खेलाडीको बेस प्राइस १५ हजार रुपैयाँ तोकिएको छ भने अधिकतम प्राइस २५ हजार रुपैयाँ सम्म राखिएको छ।
ग्रेड बि मा ७३ जना खेलाडी रहेका छन्, जसमा राष्ट्रिय तथा घरेलु प्रतियोगिता खेलेका खेलाडीहरू समावेश छन्। यस ग्रेडका खेलाडीहरूको बेस प्राइस १० हजार देखि १५ हजार रुपैयाँसम्मको दायरा तोकिएको छ। त्यस्तै ग्रेड सी मा ४० जना खेलाडी छन्, जसमा राष्ट्रिय तथा डोमेस्टिक लिग खेलिसकेका प्रतिभावान खेलाडीहरू छन्। यस समूहका खेलाडीको बेस प्राइस ५ हजार देखि १० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ।
कुनै खेलाडीको मूल्य अधिकतममा पुग्दा एकभन्दा बढी टोलीले रुचाएमा लक्की ड्र प्रणालीबाट खेलाडी चयन गरिनेछ।
अक्सनको प्राविधिक निर्देशन सम्हालिरहेका रविन्द्र गुप्ता भन्छन्, “नेपालमै पहिलोपटक इन्डोर क्रिकेटमा फ्रेन्चाइज मोडलमा अक्सन हुँदैछ, जुन ऐतिहासिक अवसर हो। थुप्रै राष्ट्रिय खेलाडीहरू पनि यो लिगमा सहभागी छन्, जुन कुराले अझ रोमाञ्चकता थपेको छ।”
बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्कमा हुने प्रतियोगिता टि-टेन फर्म्याटमा खेलिने गुप्ताले जानकारी गराए। सिंगल राउन्ड रोबिन लिगका आधारमा खेलिने लिगमा शीर्ष ४ टोली सेमिफाइनल पुग्नेछन् र अन्ततः विजेता टिम घोषणा गरिनेछ।
भदौ २५ देखि २८ सम्म चार दिन संचालन हुने प्रतियोगिताको पुरस्कार राशी समेत आकर्षक राखिएको छ। विजेता टोलीले ४ लाख रुपैयाँ राखिएको छ जुन नेपालको इन्डोर क्रिकेटमै सर्वाधिक हो। यस्तै उपविजेताले २ लाख रुपैयाँ, प्लेयर अफ द टुर्नामेन्टले २५ हजार, सर्वश्रेष्ठ बलर र ब्याट्सम्यानले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
नेपाल क्रिकेटमा पहिलोपटक इनडोर फ्रेन्चाइज लिग हुँदै गर्दा खेलाडी छनोट प्रक्रियामार्फत खेलाडीहरूको मूल्याङ्कन, फ्रेन्चाइजको रणनीति, र प्रतिस्पर्धाको गुणस्तरमा नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ।


