ओमानविरुद्धको हेड टु हेडमा नेपाल अगाडी


काठमाडौं । टि२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासेफिक छनोटमा ओमान र नेपालबीचको खेल आज हुदैछ ।

ओमानको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार बुधबार बेलुका पौने नौ मा सुरु हुनेछ । यस खेलमा जित हासिल गर्ने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टि२० विश्वकपमा स्थान बनाउँने छन् । त्यसकारण यो खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

ओमानविरुद्धको हेड टु हेडमा नेपाल अगाडी रहेको छ । ओमान र नेपाल टि२० आईमा हालसम्म ८ पटक आमने सामने भएका छन् । नेपालले ५ खेलमा जित हात पार्दा ओमानले ३ खेलमा जित हात पारेको छ ।

नेपाल र ओमानका बीचमा सन् २०१९ मा पहिलो खेल भएको थियो । ओमानमा नै आयोजना भएको ५ देश सम्मिलित टि२० सिरिजको खेलमा नेपाल पराजित भएको थियो । त्यसपछि ओमानमा नै सन् २०२२ मा भएका ३ भेटमा नेपालले शतप्रतिशत जितको नतिजा हासिल गरेको थियो ।

अघिल्लो विश्वकपको छनोटमा नेपालमा ओमानले खेलेका २ खेलमा नै पाहुना टोलीले शतप्रतिशत नतिजा हासिल गरेको थियो । उक्त प्रतियोगिताको फाइनल खेलमा ओमानले नेपाललाई सुपर ओभरमा पराजित गरेको थियो ।

गत वर्ष क्यानडामा भएको दुवै खेलमा नेपालले ओमानलाई हराएको थियो । समग्रमा नेपालले घरेलु मैदानमा ओमानसँग खेलेको दुवै खेल गुमाएको छ । भने, ओमानलाई उसकै घरमा खेलेको ४ मध्ये ३ मा पराजित गर्दा १ खेलमा भने हार बेहोरेको छ ।

यसअर्थ नेपाल ओमानको घरेलु मैदानमा ओमानविरुद्ध बलियो देखिएको छ । आजको खेलमा जित हात पारे नेपाल तेस्रो तथा ओमान चौथो पटक टि२० विश्वकपमा छनोट हुनेछन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको