अपराजित रहँदै नेपाल च्याम्पियन


काठमाडौं । नेपाल एसिया तथा इस्ट एसिया प्यासेफिक छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको छ । दुई खेल अघि नै विश्वकपका लागि छनोट भइसकेको नेपालले प्रतियोगिताको अन्तिम खेलमा आफु भन्दा वरियतामा ४७ स्थान पछिको सामाओलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

ओमानको मस्कटमा सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा सामाओमाथि १ सय २४ रनको सहज जितका साथ नेपाल च्याम्पियन भएको हो । २ सय १२ रनको विशाल लक्ष्य पछ्याएको सामाओले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो । सामाओका लागि ओपनर सेन सोलियाले ३७ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४० रन प्रहार गरे ।

बेन्जामिन माइलाटा ११ रनमा आउट हुँदा सामाओका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि ललितनाराण राजवंशीले ३ तथा कप्तान रोहित, सन्दीप लामिछाने र करण केसीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेलेका थिए । आसिफले टि२० करियरको दशौं तथा प्रतियोगिताको दोस्रो अर्धशतक ३१ बलमा पूरा गरे । अर्का ओपनर कुशल भुर्तेल १५ बलमा २ चौका र १ छक्काको सहयोगमा १७ रनमा पेभिलियन फर्किए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५३ रनमा आउट भए । दीपेन्द्रले १९ महिना पछि टि२० आईमा अर्धशतक प्रहार गरेका हुन् । यसअघि ओमानमा भएको एसिसि प्रिमियर कपमा कतारविरुद्ध पछिल्लो अर्धशतक प्रहार गरेका थिए ।

लोकेश बम १२ बलमा २ चौका र ४ छक्का सहित ३९ रनमा तथा कप्तान रोहितकुमार पौडेल १२ बलमा १ चौका र १ छक्का सहित २१ रनमा अविजित रहे । आरिफ शेख ९ रनमा आउट भए ।

सामाओका लागि ड्यानियल ब्रुगेस, सुमनी ताइ, डारिस भिसर र नोहा मेडले समान १ विकेट लिए । प्रतियोगिताले तीन टोलीलाई टि२० विश्वकपमा छनोट गरेको छ । प्रतियोगिताको च्याम्पियन नेपाल, दोस्रो भएको युएई र तेस्रो ओमानले विश्वकपमा स्थान बनाएका हुन् ।

नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टि२० विश्वकपमा स्थान बनाएको हो । विश्वकप आगामी बर्ष भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुदैछ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको