काठमाडौं। काभा पुरुष नेसन्स भलिबल कपअन्तर्गत नेपालले आफ्नो चाैँथाे खेलमा आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। यो मुकाबला बंगलादेशको मिरपुरस्थित इन्डोर स्टेडियममा दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ।
यसअघि समूह चरणका तीन खेल सकेको नेपालले मिश्रित प्रदर्शन गरेको छ। दुई खेलमा तुर्कमेनिस्तान र घरेलु टोली बंगलादेशसँग लगातार पराजय ब्यहोरेपछि नेपालले तेस्रो खेलमा माल्दिभ्सविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै जित हात पारेको थियो। उक्त जितपछि टोलीको मनोबल केही स्तरमा उकासिएको छ।
अब अफगानिस्तानविरुद्धको खेल नेपालका लागि महत्वपूर्ण मानिएको छ, किनभने यो खेलले प्रतियोगिताको सेमिफाइनल चरणमा पुग्ने सम्भावनालाई समेत प्रभावित पार्नेछ।
नेपालले आफ्नो अन्तिम लिग चरणको खेल अक्टोबर २७ मा श्रीलंकाविरुद्ध खेल्ने तालिका रहेको छ।
काभा पुरुष नेसन्स भलिबल कपमा नेपालसहित अफगानिस्तान, श्रीलंका, माल्दिभ्स, तुर्कमेनिस्तान र बंगलादेश गरी कुल ६ देशको सहभागिता रहेको छ।


