रोहितको कीर्तिमानी शतकका बाबजुत नेपाल पराजित


काठमाडौं । कप्तान रोहितकुमार पौडेलको कीर्तिमानी शतकका बाबजुत नेपाल युएईमा जारी रहेको विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजको खेलमा घरेलु टोलीसँग पराजित भएको छ ।

दुबईमा रहेको आईसिसी एकेडेमीमा बिहीबार सम्पन्न खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य युएईले ४३.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

युएईको जितमा ओपनर आर्यांश शर्माले ९८ रनको महत्वपुर्ण पारी खेले । शतक बनाउन मात्र २ रनले चुकेका शर्माले १० चौका र ३ छक्का प्रहार गरे । युएईले सुरुवात आक्रामक गरेको थियो । उसले पावर प्लेमा ६३ रन जोडेको थियो ।

युएईका अर्का ओपनर अलिसान सरफुले २६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ४५ रनको महत्वपुर्ण इनिङ खेले । कप्तान राहुल चोपरा १५ रनमा रिटायर हर्ट आउट हुँदा मोहम्मद वासिमले २६ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले २ तथा दीपेन्द्रसिंह ऐरी र करण केसीले समान १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बलमा सबै विकेट गुमाएर २ सय ३३ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि कप्तान रोहितले १ सय ३० बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक १ सय ९ रनको शतकीय इनिङ खेले । ओडिआई करियरको दोस्रो शतक रोहितले १ सय २६ बलमा पूरा गरेका थिए । रोहित नेपालका लागि दुई शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

रोहितले यसअघि २५ मार्च २०२२ मा पपुवा न्यु गिनीविरुद्ध पहिलो शतक प्रहार गरेका थिए । संयोग त के भने रोहितले शतक प्रहार गरेको उक्त खेलमा पनि नेपाल पराजित भएको थियो ।

विदेशी भुमी शतक प्रहार गर्ने रोहित दोस्रा नेपाली खेलाडी हुन् । सन् २०१९ मा यसै मैदानमा तत्कालिन कप्तान पारस खड्काले पहिलो पटक विदेशी भुमीमा शतक प्रहार गरेका थिए । नेपाली टिमको कप्तानको रुपमा शतक प्रहार गर्ने रोहित दोस्रा खेलाडी हुन् ।

दीपेन्द्रसिंह ऐरी २८ बलमा १ चौकाको सहयोगमा २३ रन बनाउँदै आउट भए । पाँचौ विकेटका लागि दीपेन्द्रले कप्तान रोहितसँग मिलेर ५२ बलमा ५४ रनको साझेदारी गरे ।

अघिल्लो खेलमा रनको खाता नखोल्दै आउट भएका ओपनर कुशल भुर्तेल यस खेलमा १२ बलमा ७ रन बनाउँदै पेभिलियन फर्किए । अमेरिकाविरुद्ध पनि राम्रो ब्याटिङ गरेका आसिफ शेख ४८ बलमा ४ चौकाको सहयोगमा ३५ रनमा आउट भए ।

आरिफ शेख ४२ बलमा २ चौकाको सहयोगमा २७ रन बनाउँदै आउट भए । चौथो विकेटका लागि आरिफ र कप्तान रोहितले ९३ बलमा ७० रनको महत्वपुर्ण साझेदारी गरेका थिए । भीम सार्की १३ बलमा ३ रन बनाउँदै आउट भए ।

यसअघि युएईविरुद्धको खेलमा राम्रो लयमा रहेका गुलसन झा रनको खाता नखोल्दै पहिलो बलमा नै आउट भए । करण केसी ८ बलमा १३ तथा सोमपाल कामी १३ बलमा ६ रनमा आउट भए ।

युएईका लागि जाहिद अलिले ४, जुनेद सिद्धिकीले ३ तथा हैदर अलि र मोहम्मद रोहितले समान १ विकेट लिए । सिरिजमा नेपाल र युएईको अलावा अमेरिकाको पनि सहभागीता रहेको छ । सिरिजको पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका थिए ।

८ राष्ट्र सहभागी लिग टु अन्तर्गत दुवै राष्ट्र खराब लयमा रहेका छन् । जितका साथ युएईको लिग टुमा १८ खेलका साथ ८ अंक भएको छ । भने, पराजित नेपाल समान खेलबाट नेपालको १२ अंक रहेको छ । अमेरिका लिग टु को शीर्ष स्थानमा छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको