दीपेन्द्रको अर्धशतकमा अमेरिकालाई २ सय ७२ रनको लक्ष्य


काठमाडौं । उपकप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा युएईमा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले अमेरिकालाई २ सय ७२ रनको लक्ष्य दिएको छ ।

विश्वकप लिग टु अन्तर्गत दुबईमा जारी सिरिजको खेलमा अमेरिकाले टस जितेर बलिङ रोजेको थियो पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम ओभरमा सबै विकेट गुमाएर २ सय ७१ रनको योगफल तयार गर्यो ।

नेपालका लागि उपकप्तान दीपेन्द्रले ६७ बलमा २ चौका र ३ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय इनिङ खेले । ओडिआई करियरको पाँचौ अर्धशतक उनले ४३ बलमा पूरा गरे ।

नेपाल दोस्रो ओभरमा २ रनमा मात्र जोड्दा ओपनर आसिफ शेखलाई पहिलो विकेटका रुपमा गुमाएर संकटमा आएको थियो । तर, दोस्रो विकेटका लागि भीम सार्की र कुशल भुर्तेलले १ सय ८ बलमा ८६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो स्थितीमा पुर्याएका थिए ।

ओपनर कुशल ६५ बलमा २ चौका र २ छक्काको सहयोगमा ४७ रनमा पेभिलियन फर्किए । भीम ५८ बलमा ४ चौकाको सहयोगमा ४३ रनमा आउट भए । भीम आउट भएपछि क्रिजमा आएका आरिफ शेखले मात्र २ रन बनाए ।

पाँचौ विकेटका लागि कप्तान रोहितकुमार पौडेलले उपकप्तान दीपेन्द्रसँग मिलेर ८२ बलमा ८९ रनको साझेदारी गरे । कप्तान रोहित ४६ बलमा २ चौकाको सहयोगमा ३६ रन बनाउँदै आउट भए । सातौं विकेटका लागि उपकप्तान दीपेन्द्र र करण केसीले २७ बलमा २६ रनको महत्वपुर्ण साझेदारी गरे । करण ३१ बलमा २ चौका र ३ छक्काका साथ ४९ रनमा आउट भए ।

नवौं विकेटका लागि सन्दीपसँग मिलेर १० बलमा २३ रनको साझेदारी गरे । सन्दीप ४ रनमा अविजित रहँदा गुलशन झा ५ तथा नन्दन यादवले १ रन आउट भए ।

अमेरिकाका लागि हर्मित सिंहले ३, नोस्तुश केन्जिके र सौरभ नेत्रभाल्कर समान २ तथा जसदिप सिंह र शुभम रञ्जनेले समान १ विकेट लिए । दुवै देश सिरिजमा आफ्नो तेस्रो खेल खेल्दैछन् । नेपाल पहिलो दुई खेलमा नै पराजित हुँदा अमेरिका भने अपराजित छ ।

यसै सिरिजको पहिलो भेटमा नेपाल अमेरिकासँग १ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित नेपाल जितको लयमा फर्कन चाहन्छ । अमेरिका भने यस सिरिजमा लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

लिग टुमा ८ देशको सहभागीता रहेको छ । लिगमा सहभागी सबै देशले समान ३६ खेल खेल्नेछन् । भने, प्रतियोगिताको शीर्ष ४ मा पर्ने देशले सिधै सन् २०२७ मा हुने विश्वकपको ग्लोबल क्वालिफार्यसमा स्थान बनाउँने छन् ।

लिग टु को पुछारमा रहने ४ देशले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउँनेछ । अमेरिका २२ खेलमा ३२ अंकका साथ लिग टु को शीर्ष स्थानमा रहँदा नेपाल १८ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको