काठमाडौं । युएईमा विश्वकप लिग टु अन्तर्गतको जारी त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।
दुबईमा जारी सिरिजमा लगातार तेस्रो हार बेहोर्ने क्रममा नेपाल अमेरिकासँग ४ विकेटले पराजित हुन पुग्यो । नेपालले दिएको २ सय ७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
अमेरिकाका लागि साइतेजा मुककामल्ला तथा मिलान्द कुमारले अर्धशतकीय इनिङ खेले । साइतेजाले १ सय १ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ७५ रन जोडे । मिलान्द ६६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ७० रनमा आउट भए । चौथो विकेटका लागि २ बीचमा १ सय २३ रनको महत्वपूर्ण साझेदारी गरे ।
ओपनर शायन जाहाँगिर ३६, कप्तान मोनांक पटेल २१ तथा शुभम रञ्जने १९ रनमा आउट भए । नेपालका लागि सन्दीप लामिछानेले ३ तथा नन्दन यादव र गुलशन झाले समान १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम ओभरमा सबै विकेट गुमाएर २ सय ७१ रनको योगफल तयार गर्यो ।
नेपालका लागि उपकप्तान दीपेन्द्रले ६७ बलमा २ चौका र ३ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय इनिङ खेले । ओडिआई करियरको पाँचौ अर्धशतक उनले ४३ बलमा पूरा गरे ।
नेपाल दोस्रो ओभरमा २ रनमा मात्र जोड्दा ओपनर आसिफ शेखलाई पहिलो विकेटका रुपमा गुमाएर संकटमा आएको थियो । तर, दोस्रो विकेटका लागि भीम सार्की र कुशल भुर्तेलले १ सय ८ बलमा ८६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो स्थितीमा पुर्याएका थिए ।
ओपनर कुशल ६५ बलमा २ चौका र २ छक्काको सहयोगमा ४७ रनमा पेभिलियन फर्किए । भीम ५८ बलमा ४ चौकाको सहयोगमा ४३ रनमा आउट भए । भीम आउट भएपछि क्रिजमा आएका आरिफ शेखले मात्र २ रन बनाए ।
पाँचौ विकेटका लागि कप्तान रोहितकुमार पौडेलले उपकप्तान दीपेन्द्रसँग मिलेर ८२ बलमा ८९ रनको साझेदारी गरे । कप्तान रोहित ४६ बलमा २ चौकाको सहयोगमा ३६ रन बनाउँदै आउट भए । सातौं विकेटका लागि उपकप्तान दीपेन्द्र र करण केसीले २७ बलमा २६ रनको महत्वपुर्ण साझेदारी गरे । करण ३१ बलमा २ चौका र ३ छक्काका साथ ४९ रनमा आउट भए ।
नवौं विकेटका लागि सन्दीपसँग मिलेर १० बलमा २३ रनको साझेदारी गरे । सन्दीप ४ रनमा अविजित रहँदा गुलशन झा ५ तथा नन्दन यादवले १ रन आउट भए ।
अमेरिकाका लागि हर्मित सिंहले ३, नोस्तुश केन्जिके र सौरभ नेत्रभाल्कर समान २ तथा जसदिप सिंह र शुभम रञ्जनेले समान १ विकेट लिए ।
लिग टुमा ८ देशको सहभागीता रहेको छ । लिगमा सहभागी सबै देशले समान ३६ खेल खेल्नेछन् । भने, लिगको शीर्ष ४ मा पर्ने देशले सिधै सन् २०२७ मा हुने विश्वकपको ग्लोबल क्वालिफार्यसमा स्थान बनाउँने छन् । लिग टु को पुछारमा रहने ४ देशले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउँनेछ ।
जित पछि अमेरिकाको २३ खेलमा ३४ अंकका साथ शीर्ष स्थानमा छ । भने, पराजित नेपाल १९ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । यसै सिरिजको पहिलो भेटमा पनि नेपाल अमेरिकासँग १ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।


