इडब्लुभिएल : काठमाडौँ र पोखरा तथा लुम्बिनी र मधेस भिड्दै


काठमाडौँ। एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा आज पनि दुई खेल हुँदैछ।

जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा सुचारू भएको हो। यसअघि पोखरामा लिग भए पनि आन्दोलनपछि आयोजक इनफिनिटी ड्रिम्स प्रालीले आयोजना काठमाडौंमा सार्ने निर्णय गरेको थियो।

जसमा दोस्रो दिनको पहिलो खेलमा काठमाडौँ स्पाइकर्सले पोखरा निन्जाससँग खेल्दैछ। फाइनल प्रवेशको सम्भावना सकिएको पोखराले बिहिवार भएको खेलमा साविक उपविजेता ललितपुर क्विन्सलाई हराएको थियो।

पोखरा काठमाडौँमाथि पनि जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चहान्छ। चार खेलमा चार अंक रहेको पोखरा पूछारबाट दोस्रोमा छ। तीन खेलमा तीन अंक रहेको काठमाडौँ पोखराविरुद्ध जित हासिल गर्दै फाइनल प्रवेशको सम्भावना कायम राख्न चहान्छ।

पोखरा प्रगति नाथ तथा काठमाडौँ उषा भण्डारीको कप्तानीमा कोर्टमा उत्रिनेछन्। यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।

यस्तै, दोस्रो खेलमा प्रतियोगिताबाट बाहिरिएको मधेस युनाइटेडले लुम्बिनी लाभाको सामना गर्दैछ। निरुता ठगुन्नाको कप्तानीमा रहेको मधेसको चार खेलबाट तीन छ। तीन खेलबाट दुई अंक रहेको लुम्बिनीको पनि फाइनल प्रवेशको सम्भावना भने सकिसकेको छ।

मधेस बिहिवार भएको आफ्नो चौथो खेलमा साविक विजेता कर्णाली यसर्विससँग पराजित भएको थियो। चार खेलमा चार जितसहित १२ अंक जोडेको कर्णाली लगातार दोस्रो संस्करण फाइनल प्रवेश गरेको छ। विदेशी खेलाडीबिना नै सुचारू भएको लिगमा पनि कर्णालीले आफ्नो लय जारी राख्दै जित निकाल्यो र फाइनलमा पनि पुगेको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको