जितका साथ सुरुवात गर्ने लक्ष्यमा लुम्बिनी


काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा आज एक खेल हुँदैछ। आजको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजको सामना गर्दैछ। दुई टोलीबीचको खेल नेपालीसमयअनुसार अपरान्ह ४ बजे पछि टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुँदैछ।

यस सिजनको पहिलो खेल खेल्दै गरेको लुम्बिनी अघिल्लो संस्करणमा खासै राम्रो प्रदर्शन गर्न नसकेकोमा जितको साथ यस संस्करणको सुरुवात गर्ने लक्ष्यमा छ। दोस्रो खेल खेल्दै गरेको चितवन पनि जितको लयलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ।

पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो। लुम्बिनीले अघिल्लो संस्करणमा चितवनसँगको खेल मात्र जितेको थियो। लुम्बिनी सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ। चितवन भने अघिल्लो संस्करणको हारलाई जितमा बदल्ने लक्ष्यमा रहने छ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीको टोलीमा अस्ट्रेलियाका क्रिकेटर डार्सी शर्ट, अफगानीस्तानका गुलबदीन नैब, नामिबियाका रुबेन ट्रम्पलम्यान तथा जेजे स्मिथ जस्ता विदेशी खेलाडी रहेका छन्।

लुम्बिनीमा सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अबिशेष गौतम, तिलक राज भण्डारी, दुर्गेश गुप्ता तथा सुमित महर्जन जस्ता राष्ट्रिय खेलाडी रहेका छन्। लुम्बिनीको मुख्य प्रशिक्षकमा भारतीय टोलीका पुर्व खेलाडी टिनु याहानान रहेका छन्।

उता, कुशल मल्लको कप्तानीमा रहेको चितवनमा डाबिड मिलान, सैफ जैब, सोहेल तनविर तथा रवि बोपारा जस्ता बिदेशी खेलाडी रहेका छन्। चितवनमा देव खनाल, अर्जुन साउद, कमलसिंह ऐरी, रिजन ढकाल लगायतका राष्ट्रिय खेलाडी रहेका छन्। चितवनको मुख्य प्रशिक्षकमा कलाम अलि रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको