दोस्रो हारपछि नेपालको सेमिफाइनल यात्रा कठिन


काठमाडौं। एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेपछि सेमिफाइनलमा पुग्ने सम्भावना कठिन भएको छ।

आइतबार दुबईस्थित ‘दि सेभेन्स’ रंगशालामा सम्पन्न समूह ‘बी’ को खेलमा नेपाल बंगलादेशसँग ७ विकेटले पराजित भयो। नेपालले दिएको १३१ रनको लक्ष्य बंगलादेशले २४।५ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

बंगलादेशको जितमा ओपनर जावद अब्रारले ६८ बलमा ४ चौका र ३ छक्कासहित शानदार ७० रन बनाए। चौथो नम्बरमा आएका कलाम सिद्दिकीले ३४ रनको योगदान गरे भने रिजन होस्सन १२ रनमा अविजित रहे। नेपालका लागि अभिशेष तिवारी र युवराज खत्रीले एक–एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ३१।१ ओभरमै सबै विकेट गुमाउँदै १३० रनमै समेटियो। नेपालका लागि अभिशेष तिवारीले ४३ बलमा २ छक्कासहित ३० रन बनाए। विकेटकिपर आशिष लुहारले २३, साहिल पटेलले १८ र निरज कुमार यादवले १४ रन जोडे।

बंगलादेशका मोहम्मद सोबुजले ३ विकेट लिए भने साद इस्लाम, शहरियार अहमद र अजिजुल हाकिमले समान २–२ विकेट हात पारे।

यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको