काठमाडौं। चितवन जिल्ला क्रिकेट संघको आयोजनामा हुने इन्डो-नेपाल टी२० च्याम्पियनसिप क्रिकेटको तयारी पूरा भएको छ। प्रतियोगिता यही पौष ४ देखि १३ गतेसम्म गौतम बुद्ध क्रिकेट मैदानमा आयोजना हुने संघले जनाएको छ।
प्रतियोगितामा नेपालबाट नेपालको तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब, चितवन क्रिकेट क्लब को सहभागिता रहनेछ। यस्तै भारतबाट दुई टिम आउनेछन्। भारतको कोलकाताबाट कोलकाता ईन्स्टिच्युट क्लब र दिल्लीको दिल्ली वन्डरर्स क्लब टिम हुनेछ। भारतीय टिममा रणजी र आईपीएलको अनुभव भएका खेलाडीहरु समावेश हुने आयोजकले जानकारी दिएको छ।
यस इन्डो-नेपाल टी-२० च्याम्पियनसिप क्रिकेट मार्फत नेपाल र भारत दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास छ।
प्रतियोगिताको दर्शकहरुको लागि बाउण्ड्री बाहिर वान ह्याण्ड क्याच गर्दा नगदसहित आकर्षिक पुरस्कारको व्यवस्था समेत रहेको छ। यसले दर्शकलाई खेल हेर्न अझै उत्साही बनाउने विश्वास छ।
प्रतियोगिताको विजेताले प्राप्त गर्ने पुरस्कार चाँडै घोषणा गर्ने चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष उमेश पियाले जानकारी दिए। प्रतियोगिताका खेलहरु हिमालयन प्रिमियम एचडी र मकालु टिभीबाट प्रत्यक्ष प्रशारण हुनेछ।


