अफगानिस्तानसँग पनि हार्दै नेपाल एसीसी यु–१९ एसिया कपमा जितविहीन


काठमाडौं। नेपाल एसीसी यु–१९ एसिया कपको अन्तिम खेलमा पनि पराजित भएको छ। बुधबार अफगानिस्तानसँग ६ विकेटको हार व्यहोरेसँगै नेपाल प्रतियोगिता जितविहीन रूपमा समाप्त भएको हो।

नेपालले दिएको १२५ रनको सामान्य लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल श्रीलंका र बंगलादेशसँग पनि पराजित भइसकेको थियो।

अफगानिस्तानका लागि नियाजाईले सर्वाधिक ६१ रनको उत्कृष्ट इनिङ खेले। ५९ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे। उस्मान सादतले २८ रन जोडे भने फैसल सिनोजादा १३ रनमा आउट भए। महबुब खान र अजिजुल्लाह मियाखिल ११–११ रनमा अविजित रहे।

नेपालतर्फ अभिषेक तिवारी र अशोक धामीले समान १–१ विकेट लिए।

यसअघि दुबईस्थित द सेभेन्स् स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.४ ओभरमा अलआउट हुँदै १२४ रनमै सीमित रह्यो। दिलसद अलीले सर्वाधिक ३२ रन बनाए भने चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रनको योगदान दिए।

अफगानिस्तानका जैतुल्लाह शाहीनले ३ विकेट लिँदै नेपालको ब्याटिङ लाइनअप ध्वस्त पारे।

समूह ‘बी’ मा अफगानिस्तानले २ अंक जोड्दै प्रतियोगिताको सुखद अन्त्य गर्‍यो भने समान ४ अंक जोडेका श्रीलंका र बंगलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको