काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सहभागी राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल)मा पहिलोपटक हार व्यहोरेको छ।
शनिबार भएको खेलमा राजशाही ढाका क्यापिटल्ससँग ५ विकेटले पराजित भयो। १३३ रनको लक्ष्य पछ्याएको ढाकाले १८.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
यसअघि आफ्नो पहिलो खेलमा राजशाहीले सिल्हेट टाइटन्सलाई ८ विकेटले हराएको थियो। ढाकाको भने यो बीपीएलको पहिलो खेल हो।
ढाकाको जितमा अब्दुल्लाह मामुनले निर्णायक भूमिका खेले। उनले ३९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन जोडे।
राजशाहीका लागि मोहम्मद नवाजले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। सन्दीप लामिछानेले पनि १ विकेट हात पारे।
यसअघि सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको राजशाहीले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो।
राजशाहीका कप्तान नजमुल हसेन शान्तोले सर्वाधिक ३० रन बनाए। नवाज २६ रनमा अविजित रहँदा मुस्फिकुर रहिमले २४ रनको योगदान दिए।
ढाकाका इमाद वासिमले ३ विकेट लिएर बलिङमा चम्किए।


