काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सुदूरपश्चिम प्रदेशले सान्त्वना जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
यद्यपि, सुदूरपश्चिम यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। समूह चरणका अघिल्ला खेलमा सुदूरपश्चिमलाई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले सोझो सेटमै पराजित गरेका थिए।
मधेश प्रदेशका लागि भने यो प्रतियोगिताको दोस्रो हार हो। यसअघि मधेश एपीएफसँग पनि सोझो सेटमा पराजित भएको थियो।
एपीएफ क्लब भने एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
खेलको पहिलो सेटमा मधेशले कडा चुनौती दिए पनि सुदूरपश्चिमले २५–२१ ले आफ्नो पक्षमा पार्यो। त्यसपछि भने सुदूरपश्चिम हाबी रहँदै दोस्रो र तेस्रो सेट क्रमशः २५–१४ र २५–१७ ले जित्दै खेल समाप्त गर्यो।


