काठमाडौँ। विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
खेलको सुरुआतदेखि नै प्रभुत्व जमाएको आर्मीले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो। दोस्रो सेटमा पनि लय कायम राख्दै आर्मीले २५–१७ को जित निकाल्यो। तेस्रो सेटमा थप आक्रामक प्रदर्शन गरेको आर्मीले २५–१५ को सहज जित दर्ता गर्दै खेल आफ्नो पक्षमा पार्यो।
यस जितसँगै आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको छ। अब आर्मीले शुक्रबार सेमिफाइनल खेलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको सामना गर्नेछ।


