एसी मिलानको सानदार जित


काठमाडौं। इटालियन सिरी ‘ए’ अन्तर्गत एसी मिलानले कोमोमाथि ३–१ को सानदार जित हासिल गरेको छ।

सुरुआती १–० ले पछि परेको स्थिति उल्टाउँदै मिलानले महत्वपूर्ण ३ अंक बटुलेको हो।

कोमोको घरेलु मैदानमा भएको खेलको १०औं मिनेटमा मार्क ओलिभर केम्फले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। कोमोले पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि अन्तिम समयमा अग्रता जोगाउन सकेन।

पहिलो हाफको इन्जुरी समयमा कोमोका केम्फले डिबक्सभित्र फाउल गरेपछि एसी मिलानले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई क्रिस्टोफर एनकुंकुले गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।

दोस्रो हाफमा भने एसी मिलान खेलमा हाबी भयो। ५५औं मिनेटमा राफयल लियोको पासमा एड्रियन रबिओले गोल गर्दै मिलानलाई २–१ को अग्रता दिलाए। कोमोका निको पाजले खेलमा फर्कनका लागि केही उत्कृष्ट प्रहार गरे पनि मिलानका गोलकिपर माइक माइनन पर्खाल बनेर उभिए। ५९औं मिनेटमा पाजको प्रहार बारमा लागेर फर्किएको थियो।

खेलको अन्तिम समय ८८औं मिनेटमा एड्रियन रबिओले डिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल गरे र टोलीको जित ३–१ ले सुनिश्चित गरे।

जितसँगै २० खेलबाट ४३ अंक रहेको मिलान दोस्रो स्थानमा छ। समान खेलबाट ४६ अंकसहित इन्टर मिलान शीर्ष स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको