सिइसी पिएम कप काठमाडौं छनोट च्याम्पियन


काठमाडौं। क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी)ले महाविर एथलेटिक्स सेन्टरलाई हराउँदै प्रधानमन्त्री कप काठमाडौ जिल्ला छनोटको उपाधी जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा सिइसिले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो।

पहिले ब्याटिङ गरेको सिइसीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२९ रनको योगफल तयार गरेको थियो। सिइसिका लागि विरेन्द्र धनदीले ८९ बलमा सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले। बुद्धिमान बिष्ट ५९ बलमा ४४ रन बनाउँदै आउट भए। महाविरका लागि सोनु देवकोटाले ४ तथा रिजन थापाले २ विकेट लिए।

२३० रनको लक्ष्य पछ्याएको महाविर २१ दशमलब ३ ओभरमा ९१ रनमा अल आउट भएको थियो। महाविरका लागि प्रतिश जिशीले ४० बलमा सर्वाधिक ४७ रन जोडे। उत्तम थापा मगरले ८ बलमा ११ रन बनाए। सिइसीका लागि प्लेयर अफ द म्याच दयानन्द मण्डलले ४ तथा मोनसान सिंहले ३ विकेट लिए।

च्याम्पियन सिईसिका कप्तान रहेका रित गौतम प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भए। प्रतियोगिताभर १४ विकेट लिएका उपविजेता महाविरका सन्दीप पराजुली उत्कृष्ट बलर भए। प्रतियोगितामा तीन शतक सहित ४ सय ७ रन बनाएका सिइसिका कप्तान रित उत्कृष्ट ब्याटर भए। सिइसीका धिरज देउवा उदयीमान खेलाडी भए।

यसै प्रतियोगिताको आधारमा पिएम कप बागमती प्रदेश छनोटमा सहभागी हुने खेलाडी छनोट गरिनेछ। माघ १९ बाट जारी यस प्रतियोगितामा अठार टोलीको सहभागीता रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको