काठमाडौं। एन्फा राष्ट्रिय लिगअन्तर्गत न्युरोड टिम (एनआरटी) अन्तिम समयमा अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा एनआरटी लालीगुराँस एसोसिएसन क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलको २६औँ मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै एनआरटीलाई पहिलो हाफमै अग्रता दिलाएका थिए। तर निर्धारित समयको अन्तिम मिनेटमा आशिष गुरुङले गोल फर्काउँदै लालीगुराँसलाई १–१ को बराबरीमा ल्याए।
यो बराबरीसँगै एनआरटी १९ अंकसहित सातौँ स्थानमा रहेको छ भने समान खेलबाट लालीगुराँस २० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ।


