काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशमाथि १८५ रनको फराकिलो जित हात पारेको छ।
पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३६२ रनको विशाल योगफल तयार गर्यो। आर्मीका कप्तान विनोद भण्डारीले १५० बलमा २१ चौका र ५ छक्कासहित शानदार १८९ रनको अविस्मरणीय इनिङ्स खेले।
भिम शार्कीले ६५ बलमा ८० रनको उत्कृष्ट योगदान दिए भने त्रित राज दासले ३३ रन जोडे। अन्तिमतिर जितेन्द्र ठाकुरीले ३१ रन बनाए।
कोशी प्रदेशका बिपिन महतोले ३ विकेट लिए भने दिपेश कँडेल, रोहन शाह र आशिष मगरले समान १/१ विकेट हात पारे।
३६३ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ३६ ओभरमा १७७ रनमै अलआउट भयो। सुजन थपलियाले ३० रन बनाए भने शिवश बजगाईंले ३७ रनको योगदान दिए। प्रभात राईले ३८ रन जोड्दा अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्।
आर्मीका बलरमध्ये आकाश चन्दले ३ विकेट लिए। बसिर अहमदले २ विकेट झारे भने शाहाब आलम, पवन कार्की र नरेन साउदले समान १/१ विकेट लिए।
याे जितसँगै आर्मी शीर्ष स्थानमा रहेर फाइनल खेल्ने भएकाे छ। आर्मीले अब उपाधिका लागि सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ।


