काठमाडाैं। गौरीशंकर सुपर लिग यू–१७ ब्वाइज क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट एक्सीलेन्स सेन्टर(सिईसी) काठमाडौंले जितेकाे छ।
तल्लाे मूलपानी क्रिकेट मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा एन्जलस स्पोट्र्स एकेडेमीलाई ३६ रनले पराजित गर्दै सिईसीले उपाधि हात पारेकाे हाे।
टस जितेर पहिले ब्याटिङ रोजेको क्रिकेट एक्सीलेन्स सेन्टरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०५ रनको योगफल तयार पारेको थियो। टोलीका लागि दिनेश बोहराले आक्रामक ब्याटिङ गर्दै मात्र १० बलमा २ चौका र ३ छक्काको मद्दतले सर्वाधिक २७ रन बनाए। त्यस्तै बुद्धिमान विष्टले १९ रन र कप्तान प्रसिद्ध जैशीले १७ रनको योगदान दिए।
बलिङतर्फ एन्जलस स्पोट्र्स एकेडेमीका धिराज यादव र प्रह्लाद गौतमले २–२ विकेट लिए।
१०६ रनको लक्ष्य पछ्याएको एन्जलस १८.२ ओभरमा मात्र ६९ रन बनाउँदा अलआउट भयो। विशाल ऐयरले सर्वाधिक २१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
दिनेश बोहराले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिँदा अनिकेत सिंहले २ विकेट लिए। खेलकाे प्लेयर अफ द म्याच दिनेश बोहरा भए।
प्रतियाेगिताकाे प्लेयर अफ द टूर्नामेन्ट एन्जलसका सन्दीप साउद, उत्कृष्ट ब्याटर एन्जलसकै जोय थापा, उत्कृष्ट बलर नेकस्स क्रिकेट एकेडेमीका साईमन पन्त चुनिए। विजेता सिईसीले उपाधिसँगै एक लाख एक हजार रुपैयाँ पाउँदा उप विजेताले ४१ हजार रुपैयाँमा चित्तबुझायाे।


