काठमाडाैं। काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा १२ औं सिटीजन्स बैंक खुला टेनिस प्रतियोगिता आइतबारदेखि सुरु भएको छ।
पहिलो दिन पुरुष सिंगल्समा डानियल बाँस्तोला, सक्षमविक्रम शाह, अभिनव आचार्य, प्रणव मानन्धर, साङ्गे छोजाङ रोकाया, बोरिस अधिकारी, आयुशमान हजुर घले, राजवीर प्रधान (वाकओभर), निजेज महर्जन, युगेन शेर्पा, दर्शिल श्रेष्ठ र प्रीतम परियारले विजयी सुरुआत गरेका छन्।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा जुजुमन किम तथा ७० वर्षमाथि पुरुष सिंगल्समा फाडर म्याथ्युले जित हात पारे। ३५ वर्षमाथि पुरुष सिंगल्समा विश्वास थापाले बाजी मारे।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा सन्जिव श्रेष्ठ, मनोज श्रेष्ठ, राजु गुरुङ, निरानन् श्रेष्ठ र प्रताप मुक्तानले सफलता पाए। ४५ वर्षमाथि पुरुष डबल्समा नवाङ लामा÷राजेन्द्र भाटियाको जोडी विजयी भए भने विपिन श्रेष्ठ÷रुपेश भण्डारीको जोडीले प्रतिद्वन्द्वीबाट वाकओभर पाए। पहिलो दिन निर्धारित भएका केही खेलहरु भने वर्षाका कारण सम्भव भएन।
प्रतियोगिताको सिटीजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे। सो अवसरमा नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल, आयोजक संघका अध्यक्ष प्रवीण वैद्यलगायतको उपस्थिति रहेको थियो। खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् र भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा भइहरेको छ।
प्रतियोगितामा विभिन्न १३ स्पर्धामा १ सय ५४ खेलाडी सहभागी छन्। सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ६५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता बैशाख १९ गते सम्पन्न हुनेछ।


