काठमाडौं। पूर्व राष्ट्रिय भलिबल खेलाडी दीपकराज जोशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबलबाट औपचारिक रूपमा सन्यास लिएका छन्। उनले हालै सम्पन्न १०औं पीएम कप भलिबल प्रतियोगितापछि खेल जीवनबाट विश्राम लिने निर्णय गरेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै जोशीले आफूलाई खेल जीवनभर साथ, सहयोग र माया गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्। उनले नेपाल प्रहरी संगठन, आफ्ना प्रशिक्षकहरू, टिमका साथीहरू, परिवार, अग्रज खेलाडी, मिडिया तथा दर्शकप्रति विशेष धन्यवाद दिएका छन्।
जोशीले खेलाडीका रूपमा मात्रै सन्यास लिएको स्पष्ट पार्दै आगामी दिनमा पनि भलिबलकै क्षेत्रमा रहेर योगदान दिने बताएका छन्। उनले आफ्नो बाँकी जीवन भलिबलको विकास र सहयोगमै समर्पित रहने उल्लेख गरेका छन्।
त्यस्तै, खेल जीवनभर आफूलाई सम्मान र अवसर प्रदान गरेको भन्दै उनले नेपाल प्रहरी संगठनप्रति सधैं ऋणी रहने बताएका छन्।


