अल्जेरियाविरुद्धको खेल मेस्सीका लागि विशेष, अर्को खेलमा अस्ट्रिया र जोर्डन भिड्दै

काठमाडौं। साबिक विजेता अर्जेन्टिनाले बुधबारबाट अल्जेरियासँग खेल्दै आफ्नो उपाधि रक्षा अभियान सुरु गर्दैछ। मिसौरी राज्यस्थित कन्सास रंगशालमा हुने समूह ‘जे’को यो खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे हुनेछ।

अर्जेन्टिना इटाली र ब्राजिलपछि लगातार विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा छ। उता अल्जेरियाको लक्ष्य भनेको आफ्नो इतिहासमै दोस्रोपटक नकआउट चरणमा पुग्ने हुनेछ।

अमेरिका विश्वकप अर्जेन्टिनाका लागि लगातार १४औं अनुभव हो। लियानेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा रहँदै उत्तर अमेरिकाको टिकट काटेको थियो । यो यात्रामा अर्जेन्टिनाले चिरप्रतिद्धन्द्धी ब्राजिललाई ४–१ ले हरायो।

अर्जेन्टिनाले १८ खेलमा कूल ३८ अंक जोडेको थियो। कप्तान लियोनल मेस्सी आठ गोलसहित उच्च गोलकर्ता बने। छनोट प्रतियोगितापछि अर्जेन्टिनाले सात अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो। सबै खेल आफ्नो पक्षमा पारेको अर्जेन्टिनाले कूल २१ गोल गर्दा मात्र एक गोल खायो।

अफ्रिकन राष्ट्रविरुद्ध अर्जेन्टिनाले पछिल्ला ६ खेलमा विजयी हासिल गरेका छ। तर, यसो भनिरहँदा गत संस्करण पहिलो खेमला एसियाली राष्ट्र साउदी अरेबियासँगको त्यो अप्रत्याशित हार अर्जेन्टिनाले बिर्सेको छैन। त्यसैले अल्जेरियालाई हल्का रुपमा लिन अर्जेन्टिनालाई छुट छैन। अल्जेरिया र अर्जेन्टिना अहिलेसम्म एकैपटक आमने–सामने भएका छन्। सन् २००७ मा यी दुईबीच मैत्रीपूर्ण खेल भएको थियो। जसमा नतिजा ४–३ ले अर्जेन्टिनाको पक्षमा गएको थियो। खेलमा मेसीले दुई गोल गरेका थिए।

फिफा वरीयतामा २८औं स्थानमा रहेको अल्जेरिया आफ्नो पाँचौं विश्वकप अनुभव लिइरहेको छ। २०१४ ब्राजिल विश्वकपमा एकैपटक नकआउट चरण प्रवेश गरेको अल्जेरिया त्यसपछिका दुई संस्करण छनोट हुन सकेन। यसपाली अल्जेरियाको छनोट यात्रा एकदमै सम्झनलायक रह्यो । टोलीे आफ्नो समूहको शीर्ष स्थानमा रह्यो। टोली सबैभन्दा धेरै गोल गर्ने टोलीमध्ये एक थियो। स्ट्राइकर मोहम्मद अमौरा १० गोलसहित प्रतियोगिताकै उच्च गोलकर्ता बने।

भ्लादिमिर पेट्कोभिकको नेतृत्वमा रहेको अल्जेरिया राम्रो लयमा पनि छ। विश्वकपअघि भएका चारमध्ये तीन मैत्रीपूर्ण खेलमा अल्जेरियाले विजयी हासिल गर्यो । यसबीच युरोपियन राष्ट्र नेदरल्यान्ड्सले पनि अल्जेरियासँग हार बेहोर्यो। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अल्जेरियाविरुद्ध आफ्नो २००औं अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । उनका लागि अल्जेरियाविरुद्धको खेल २७औं विश्वकप खेल हुनेछ। ह्यामस्ट्रिङ इन्जुरीबाट रिकभर गरिरहेका मेस्सीले अल्जेरियाविरुद्ध प्लेइङ मिनेट्स पाए मेसी विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी बन्नेछन्।

गोलकिपर इमिलियानो मार्टिनेज औंलाको समस्याबाट मुक्त भएका छन्। त्यस्तै मिडफिल्डर लियान्ड्रो पेरेडेज र विंगर निकोलस गान्जालेज पनि उपलब्ध हुने विश्वास गरिएको छ। यद्यपि लेफ्ट ब्याक निकोलस ताग्लियाफिको घाइते छन्। उनलाई फाकुन्डो मेडिना र भ्यालेन्टिन बार्कोमध्ये एकजनाले प्रतिस्थापन गर्ने देखिएको छ।

अल्जेरियाका लागि रक्षक र्यामी बेन्सेबैनीले घुँडाको चोटका कारण खेल गुमाउने सम्भावना बढी छ। उनी बेन्चमा बस्ने हो भने समीर चेरगुई र जिनेद्दिन बेलाइदमध्य एकले उनको ठाउँ लिनेछन्। भेट्रान खेलाडी तथा कप्तान रियाद माहरेज र अमौरा अल्जेरियाका लागि ‘प्लेयर्स टु वाच’ हुन्। समूह ‘जे’को दोस्रो खेलमा बुधबारनै अस्ट्रियाले जोर्डनसँग खेल्नेछ। यो खेल बिहान ९ः४५ बजे हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको