काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी विनोद भण्डारी आगामी सेप्टेम्बरमा पोर्चुगलमा आयोजना हुने युरोप टी–१० क्रिकेट प्रतियोगिता २०२६ का लागि ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) पोर्चुगलको आयोजनामा हुने प्रतियोगिताको प्रचारप्रसारका लागि भण्डारी बिहीबार नेदरल्यान्ड्सबाट पोर्चुगलको राजधानी लिस्बन पुगेका हुन्।
यस अवसरमा एनआरएनए एनसीसी पोर्चुगलले लिस्बनमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे औपचारिक जानकारी सार्वजनिक गर्ने जनाएको छ।
आगामी सेप्टेम्बर १४ देखि १६ सम्म पोर्चुगलको राजधानी लिस्बनमा हुने उक्त प्रतियोगितामा युरोपका विभिन्न देशमा रहेका नेपाली क्रिकेट टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा हालसम्मकै ठूलो पुरस्कार राशि रहने दाबी गरिएको छ।
यस्तै, प्रतियोगिताका सम्पूर्ण खेलहरू युरोपियन क्रिकेट नेटवर्क (ईसीएन) मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जानकारी दिएको छ।
यस प्रतियोगिताले युरोपका विभिन्न मुलुकमा रहेका नेपाली क्रिकेटप्रेमी तथा नेपाली समुदायलाई एउटै साझा मञ्चमा जोड्दै आपसी भाइचारा, एकता र सहकार्यलाई थप मजबुत बनाउने आयोजकको विश्वास छ।