पुल्चोक कप फुटबल प्रतियोगिता असोज ६ देखि सुरु

काठमाडौं। रेसुङ्गा नगरपालिकाको मुख्य प्रायोजन तथा पुल्चोक स्पोर्ट्स क्लब, तम्घास, गुल्मीको आयोजनामा विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सातौं पुल्चोक कप २०८३ असोज ६ गतेदेखि १० गतेसम्म रेसुङ्गा नगरपालिका–७ स्थित उनायचौर खेलमैदानमा सञ्चालन हुने भएको छ।

महिला फुटबलको विकास, विद्यालय तहबाट प्रतिभाशाली खेलाडीको पहिचान तथा खेलाडीलाई खेलकुदमा निरन्तर लाग्न प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा गुल्मी जिल्लाका विभिन्न विद्यालयहरूको सहभागिता रहनेछ।

यस वर्षदेखि प्रतियोगितालाई थप विस्तार गर्दै प्लस-२ तहका छात्राहरूका लागि समेत छुट्टै फुटबल प्रतियोगिता आयोजना गरिनेछ।

विद्यालयस्तरीय छात्रा फुटबलतर्फ पुरस्कार
प्रतियोगिताको विजेता टोलीले नगद रु. ३५,५५५ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. २५,५५५ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारबाट समेत सम्मान गरिनेछ।Player of the Tournament लाई Premium Bicycle प्रदान गरिनेछ। ओमकार साइकल, बुटवलको विशेष सहयोगमा प्रतियोगिताको Player of the Tournament लाई आकर्षक Premium Bicycle प्रदान गरिनेछ।

प्लस-२ छात्रा फुटबल प्रतियोगिता
यसै वर्षदेखि सुरु हुन लागेको छात्रा फुटबल प्रतियोगिताको विजेता टोलीलाई नगद रु. ११,१११ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

विद्यालय तथा प्लस-२ तहमा अध्ययनरत छात्राहरूलाई खेलकुदमा सक्रिय सहभागिताका लागि प्रोत्साहन गर्दै भविष्यका प्रतिभाशाली महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगितामा नयाँ विधा थप गरिएको हो।

महिला फुटबलको विकासमा पुल्चोक कप
पुल्चोक स्पोर्ट्स क्लबले विगतदेखि नै महिला फुटबलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्दै पुल्चोक कप आयोजना गर्दै आएको छ।

सातौं पुल्चोक कपमार्फत विद्यालय तहका छात्रा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नुका साथै उनीहरूलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने क्लबको उद्देश्य रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको