काठमाडौं। बाल दीक्षा सदन स्कुलको आयोजनामा भइरहेको पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको क्वाटरफाइनल समीकरण पूरा भएको छ।
प्रतियोगिताको चौथो दिन लिग चरणअन्तर्गत छात्र र छात्रातर्फ समान तीन खेल सम्पन्न भएसँगै क्वाटरफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो।
छात्रतर्फको पहिलो खेलमा निष्ट स्कुल ‘बी’ ले केएमसी स्कुललाई २२–२ ले पराजित गर्यो। अर्को खेलमा पाठशाला फाउन्डेसन नेपालले निष्ट ‘ए’ लाई १५–२ ले हरायो। दिनको अन्तिम खेलमा द एक्सेल्सियर स्कुल आरआईबीएस स्कुलसँग ८–४ ले पराजित भयो।
छात्रातर्फको पहिलो खेलमा एलआरआई स्कुल इनोभेटिभ इङ्लिस स्कुलसँग ३०–७ ले पराजित भयो। जेनियन नेसनल एकेडेमीले ह्विटफिल्ड सेकेन्डरी स्कुललाई ११–४ ले हराउँदा दिनको अन्तिम खेलमा नवज्योतिले निष्टलाई ३०–४ ले पराजित गर्यो। यससँगै प्रतियोगिताको लिग चरणका सबै खेल सम्पन्न भएका छन्।
अब मंगलबार छात्र र छात्रा दुवैतर्फ क्वाटरफाइनलका खेल हुनेछन्। छात्रतर्फ पहिलो खेलमा नवज्योतिले रातो बंगलासँग बिहान ९ः४५ बजे प्रतिस्पर्धा गर्नेछ। त्यसपछि मनास्लुले इनोभेटिभ, सनसाइनले ह्विटफिल्ड तथा जेनियनले राराहिलसँग प्रतिस्पर्धा गर्नेछन्।
छात्रातर्फ पहिलो क्वाटरफाइनलमा आर्या स्कुलले निष्ट ‘बी’ सँग दिउँसो १२ बजे खेल्नेछ। त्यस्तै आरआईबीएसले चेल्सी, पाठशालाले द एक्सेल्सियर तथा आयोजक बीडीएसले केएमसीसँग प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा २१ विद्यालयको सहभागिता रहेको छ। सहभागी विद्यालयबाट छात्रतर्फ १३ र छात्रातर्फ १२ गरी २५ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। केही विद्यालयले छात्र र छात्रातर्फ एकभन्दा बढी टोलीसमेत सहभागी गराएका छन्।
प्रतियोगिताका विजेताले ट्रफी प्राप्त गर्नेछन्। बास्केटबलको विकासमा ग्रासरुट तहदेखि नै योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता एक सातासम्म सञ्चालन हुनेछ।