काठमाडौं, भदौ ३० । बुढानीलकण्ठ यु–१६ ब्वाइज टी वान रग्बी प्रतियोगिता आगामी असोज २ गते काठमाडौंमा हुने भएको छ।
नेपाल विद्यालय रग्बी आयोगको आयोजनामा बुढानीलकण्ठ नगरपालिकास्थित–१० मा बुढानीलकण्ठ यु–१६ ब्वाइज टी वान रग्बी प्रतियोगिता हुन लागेको हो।
नेपाल विद्यालय रग्बी कमिसनले विद्यालय तथा कलेजस्तरमा रग्बी खेलको विस्तारसँगै नियमित प्रशिक्षण र प्रतियोगितालाई निरन्तरता दिँदै आएको जनाएको छ। कपनमा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल विद्यालय रग्बी आयोगले प्रतियोगिता बारे जानकारी दिएको हो। बूढानीलकण्ठ नगरपालिकाको–१० स्थित आकाशेधारको ह्यान्डबल बहुउद्देश्यीय खेल मैदानमा हुने भएको छ । उक्त प्रतियोगितामा २० विद्यालयले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन नेपाल विद्यालय रग्बी कमिसिनका अध्यक्ष जे.बी. (दीपक) अधिकारीले जानकारी दिए।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने टोलीले ट्रफी, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार पाउनेछन्। उक्त प्रतियोगिता लागि करिब पाँच लाख रुपैयाँ खर्च हुने कमिसनले जनाएको छ । कमिसनले हरेक वर्ष विभिन्न अवसरमा विद्यालयस्तरीय रग्बी प्रतियोगिता आयोजना गर्दै नेपाल विद्यालय रग्बी कमिसिनका अध्यक्ष अधिकारीले बताए। विद्यालयस्तरमा रग्बी खेलको आधार बलियो बनाउँदै आगामी दिनमा थप विद्यालयमा प्रशिक्षण तथा प्रतियोगिता विस्तार गर्ने कमिसनको योजना रहेको उनको भनाइ छ। यसै महिना मात्र कमिसनले ब्वाइज तथा गल्र्सतर्फ गरी २२ टोलीको सहभागितामा रग्बी प्रतियोगिता गरेको थियो।
२०७५ सालमा गठन भएको कमिसनले नेपालको सातै प्रदेशमा विद्यालय तथा कलेजस्तरमा रग्बी खेल विस्तार गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यार्थीलाई रग्बी खेलतर्फ आकर्षित गर्दै दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कमिसनले प्रशिक्षण तथा प्रतियोगितालाई प्राथमिकता दिएको जनाएको छ। कमिसनका अनुसार हाल देशभर एक सयभन्दा बढी विद्यालयमा रग्बीको नियमित प्रशिक्षण भइरहेको छ। विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षक, खेलाडी तथा सम्बन्धित पदाधिकारीको समन्वयमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आएका छन्। विद्यार्थी, अभिभावक तथा खेलप्रेमीको सहयोग र सहभागिताले विद्यालयस्तरमा रग्बीको विकासमा थप योगदान पुग्ने कमिसनले जनाएको छ।