एनटीए लिग बिहीबारदेखि सुरु, १५ सय खेलाडीको सहभागिता


काठमाडौं। नेपाल तेक्वान्दो संघ (एनटीए) को नीति तथा वार्षिक कार्ययोजना अनुरूप आयोजना हुने एनटीए लिगको चौथो संस्करण आगामी बिहीबारदेखि (भदौ १२ गतेदेखि १५ गतेसम्म) हुने भएको छ।

मंगलबार नेपाल खेलकुद पत्रकार मञ्चको कार्यलयमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे विस्तृत जानकारी दिइएको हो। आयोजक संघका अनुसार यस वर्षको लिग ऐतिहासिक रूपमा सबैभन्दा ठूलो सहभागिता भएको तेक्वान्दो प्रतियोगिता मानिएको छ।

चार दिनसम्म सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय हलमा आयोजना हुने प्रतियोगितामा ५४५ महिला तथा ९५० पुरुष गरी कुल १४९५ जना खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता ग्यरोगी (लडाइँ) र पुम्से (प्रदर्शन) गरी ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता लिग चरणमा सञ्चालन गरिने भए पनि खेलाडीको वर्ग तथा वरियताअनुसार खेल तालिका मिलाइने आयोजकले जनाएको छ। यसमा राष्ट्रिय टिमका खेलाडीहरू समेत सहभागी हुने भएकाले खेल उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

सफल र पारदर्शी प्रतियोगिता संचालनका लागि ४० जना निर्णायक तथा प्राविधिक अधिकारी परिचालन गरिएको छ। संघका अनुसार यस प्रतियोगिताले राष्ट्रिय टिमका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने अवसर दिनेछ भने खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न सहयोग पुग्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको