काठमाडौं । आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टि२० विश्वकपका हुने एसिया तथा पुर्वी एसिया प्यासेफिक छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
ओमानमा हुने छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । घोषीत टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तानको जिम्मेवारीमा रहेका छन् ।
टोलीमा केही दिनअघि युएईमा वेस्ट इण्डिजविरुद्धको खेलमा टोलीमा रहेका साहब आलम बाहेक सबैलाई समेटिएको छ । साहब टोलीसँगै ओमानमा नै रहेका छन् । साहब भने ट्राभलिङ रिजर्भका रुपमा रहेका छन् ।
छनोट आगामी बुधवारबाट सुरु हुनेछ । छनोटमा ९ राष्ट्रको सहभागीता रहनेछ । सहभागी राष्ट्रहरुलाई तीन समूहमा विभाजन गरिएको छ । नेपाल समूह ुबीु मा रहेको छ ।
नेपालको समूहमा कुवेत र जापान पनि रहेका छन् । हरेक समूहमा सिङ्गल राउन्ड रोबिनका आधारमा खेलहरु हुनेछ । प्रत्येक समूहको शीर्ष दुईमा रहने राष्ट्रले सुपर सिक्समा स्थान बनाउने छ । नेपालले पनि सुपर सिक्समा स्थान बनाउँन आफ्नो समूहमा कम्तिमा एक खेल जित्नु पर्ने हुन्छ ।
सुपर सिक्समा हरेक टोलीले आफ्नो समूहको बाहेक अन्य चार राष्ट्रको सामना गर्नेछ । नेपालले आफ्नो समूहबाट सुपर सिक्समा पुगेको राष्ट्र बाहेक अन्य चार राष्ट्रसँग खेल्नेछ । सुपर सिक्सको खेलमा नेपाल शिर्ष तीनमा रहन सकेमा लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउने छ ।
नेपालले समूह चरणको पहिलो खेलमा असोज २२ बेलुका पौने नौमा कुवेतको सामना गर्नेछ । दोस्रो खेलमा जापानसँग भने असोज २४ अपरान्ह सवा चारमा खेल्नेछ । असोज २६ देखि असोज ३१ सम्म सुपर सिक्सका खेलहरु हुनेछन् ।
टि२० विश्वकप आगामी वर्षको फेब्रुअरी देखि मार्चसम्म आयोजना हुनेछ ।
छनोटमा सहभागी रहने नेपाली टोली
आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, लोकेश बम, करण केसी, सोमपाल कामी, मोहम्मद आदिल आलम, नन्दन यादव, ललितनारायण राजवंशी, सन्दीप लामिछाने


