रोहितको कीर्तिमानी शतकमा युएईलाई २ सय ३४ रनको लक्ष्य


काठमाडौं । कप्तान रोहितकुमार पौडेलको कीर्तिमानी शतकमा नेपालले युएईलाई जितका लागि २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युएईमा जारी रहेको विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई २ सय रनको लक्ष्य दिएको हो ।

दुबईमा रहेको आईसिसी एकेडेमीमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बलमा सबै विकेट गुमाएर २ सय ३३ रनको योगफल तयार गरेको हो ।

नेपालका लागि कप्तान रोहितले १ सय ३० बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक १ सय ९ रनको शतकीय इनिङ खेले । ओडिआई करियरको दोस्रो शतक रोहितले १ सय २६ बलमा पूरा गरेका थिए । रोहित नेपालका लागि दुई शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । रोहितले यसअघि २५ मार्च २०२२ मा पपुवा न्यु गिनीविरुद्ध पहिलो शतक प्रहार गरेका थिए ।

विदेशी भुमी शतक प्रहार गर्ने रोहित दोस्रा नेपाली खेलाडी हुन् । सन् २०१९ मा यसै मैदानमा तत्कालिन कप्तान पारस खड्काले पहिलो पटक विदेशी भुमीमा शतक प्रहार गरेका थिए । नेपाली टिमको कप्तानको रुपमा शतक प्रहार गर्ने रोहित दोस्रा खेलाडी हुन् ।

दीपेन्द्रसिंह ऐरी २८ बलमा १ चौकाको सहयोगमा २३ रन बनाउँदै आउट भए । पाँचौ विकेटका लागि दीपेन्द्रले कप्तान रोहितसँग मिलेर ५२ बलमा ५४ रनको साझेदारी गरे ।

अघिल्लो खेलमा रनको खाता नखोल्दै आउट भएका ओपनर कुशल भुर्तेल यस खेलमा १२ बलमा ७ रन बनाउँदै पेभिलियन फर्किए । अमेरिकाविरुद्ध पनि राम्रो ब्याटिङ गरेका आसिफ शेख ४८ बलमा ४ चौकाको सहयोगमा ३५ रनमा आउट भए ।

आरिफ शेख ४२ बलमा २ चौकाको सहयोगमा २७ रन बनाउँदै आउट भए । चौथो विकेटका लागि आरिफ र कप्तान रोहितले ९३ बलमा ७० रनको महत्वपुर्ण साझेदारी गरेका थिए । भीम सार्की १३ बलमा ३ रन बनाउँदै आउट भए ।

यसअघि युएईविरुद्धको खेलमा राम्रो लयमा रहेका गुलसन झा रनको खाता नखोल्दै पहिलो बलमा नै आउट भए । करण केसी ८ बलमा १३ तथा सोमपाल कामी १३ बलमा ६ रनमा आउट भए ।

युएईका लागि जाहिद अलिले ४, जुनेद सिद्धिकीले ३ तथा हैदर अलि र मोहम्मद रोहितले समान १ विकेट लिए । सिरिजमा नेपाल र युएईको अलावा अमेरिकाको पनि सहभागीता रहेको छ । दुवै टोली यस सिरिजको पहिलो जितको खोजीमा रहेका छन् । सिरिजको पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका थिए ।

८ राष्ट्र सहभागी लिग टु अन्तर्गत दुवै राष्ट्र खराब लयमा रहेका छन् । नेपालले लिग टु को १७ खेल सकिदा १२ अंकका साथ सातौं स्थानमा छ । युई भने, समान खेलमा ६ अंकका साथ तालिकाको पुछारमा छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको