काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरूलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले महिला क्रिकेटको हौसला बढाउने उद्देश्यले यो घोषणा गरिएको जानकारी दिएका हुन्।
घोषणाअनुसार प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ र सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडीलाई ३५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
महिला क्रिकेटको विकास र खेलाडीहरूको संघर्ष तथा प्रतिभाको कदर गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने श्रेष्ठको भनाइ छ। उनले नेपाली महिला खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा देशको पहिचान उजागर गरिरहेको उल्लेख गर्दै यस्ता प्रोत्साहनले उनीहरूको आत्मविश्वास अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
“महिला क्रिकेट विश्वस्तरमै तीव्र गतिमा अघि बढिरहेको छ। यस्तो समयमा खेलाडीहरूलाई सम्मान र हौसला दिनु हामी सबैको दायित्व हो,” श्रेष्ठले बताए।
टी–२० विश्वकप क्वालिफायर काठमाडौंमा माघ ४ देखि १८ गतेसम्म आयोजना हुँदैछ।


