काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार रातिको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३–२ गोलले पराजित गरेको छ। घरेलु मैदानमा खेल्दै आर्सनलले अन्तिम समयमा गोल खाँदै पराजय बेहोर्नुपर्यो।
खेलको २९औँ मिनेटमा युनाइटेडका लिसान्द्रो मार्टिनेजबाट भएको आत्मघाती गोलपछि आर्सनलले अग्रता लिएको थियो। तर ३७औँ मिनेटमा ब्रायन म्बेउमोले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए। पहिलो हाफ १–१ को बराबरीमा सकियो।
दोस्रो हाफको ५०औँ मिनेटमा प्याट्रिक डोर्गुले शानदार गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए। त्यसपछि आर्सनलले निरन्तर दबाब बनाउँदै ८४औँ मिनेटमा मिकेल मेरिनोको गोलमार्फत खेल २–२ को बराबरीमा ल्यायो।
तर खेल सकिन तीन मिनेट बाँकी रहँदा माथियस कुन्हाले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत हुँदा युनाइटेडले निर्णायक अग्रता लियो। त्यसपछि आर्सनलले बराबरीको प्रयास गरे पनि सफल हुन सकेन।
यो जितसँगै युनाइटेडले २३ खेलबाट ३८ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ। यद्यपि पराजय व्यहोरे पनि आर्सनल २३ खेलबाट ५० अंकसहित लिगको शीर्ष स्थानमै कायम छ।


