काठमाडौं। नेपाल पुलिस क्लब काभा वुमन्स लिगको सेमिफाइनलमा आज कजाकिस्तानको तुरान भलिबल क्लबसँग भिड्दैछ।
माल्दिभ्सको मालेस्थित सोसाइटी सेन्टस इन्डोर हलमा सोमबार हुने दिनको दोस्रो सेमिफाइनलमा पुलिस र तुरानबीचको खेल नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ। त्यसअघि पहिलो सेमिफाइनलमा श्रीलंकन क्लब हिर्डारामानी स्पोर्ट्स क्लब र इरानी क्लब फौलाद खेल्ने छन्।
यसअघि आइतबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले घरेलु टोली हुर्रा सोसाइटी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। पुलिसले पहिलो सेट २५–१९ ले जित्दा दोस्रो सेट कडा प्रतिस्पर्धापछि २६–२४ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेटमा भने पुलिसले २५–१६ को सहज जित निकाल्दै खेल समाप्त गर्यो।
सेमिफाइनलमा पुलिसले समूह ‘ए’ को विजेता कजाकिस्तानको तुरानलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ। जारी प्रतियोगितामा पुलिसले तीन खेल खेल्दै दुई जित र एक हारसहित ६ अंक जोडेर समूह चरणको विजेता बनेको थियो।
पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा इरानी क्लब फौलादसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।


