काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले शानदार जितसँगै आफ्नो यात्रा सुरु गरेका छन्।
जनकपुरमा सोमबार सम्पन्न खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई १४८ रनले पराजित गर्दै प्रभावशाली प्रदर्शन गर्यो। २५० रनको लक्ष्य पछ्याएको कोशी ३१.४ ओभरमै १०१ रनमा समेटियो। कोशीका लागि अंकित सुवेदीले सर्वाधिक ३० रन बनाए भने तीन ब्याट्सम्यान शून्य रनमै पवेलियन फर्किए।
कोशीलाई सस्तो स्कोरमै रोक्न लुम्बिनीका सन्तोष यादवले ४ विकेट लिए। राजेन्द्र बमले ३, निर्मल गुरुङले २ तथा सन्देश थापाले १ विकेट हात पारे।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९.३ ओभरमा अलआउट हुँदै २४९ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। कप्तान देव खनालले उत्कृष्ट ९२ रन बनाए। सन्तोष यादवले ४८ तथा रन्जीत खड्काले ३५ रनको योगदान दिए। कोशीका सुजन थपलियाले ४ विकेट लिए।
पहिलो खेलमा अंक बाँडेको लुम्बिनीले यस जितसँगै ३ अंक जोड्दा कोशीको खातामा १ अंक रहेको छ।
यता, वीरगञ्जस्थित नारायणी रंगशालामा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुआत गर्यो।
पहिले ब्याटिङ गरेको कर्णाली ३२ ओभरमा ११९ रनमा अलआउट भयो। बिपिन रावलले सर्वाधिक ३३ रन बनाए भने सुनिल धमलाले २८ रन जोडे। सुदूरपश्चिमका हेमन्त धामीले घातक बलिङ गर्दै ७ ओभरमा मात्र १६ रन खर्चेर ६ विकेट लिए। शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले समान १–१ विकेट लिए।
१२० रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। किरण ठगुन्नाले २६ रन बनाए भने खडक बोहराले २३ रन जोडे। मिलन बोहरा १८ र शेर मल्ल १० रनमा अविजित रहे।
कर्णालीका लागि अनुज चनारा र दिवान पुनले २–२ विकेट लिए भने प्रकाश जैशी र दिपेन्द्र रावतले १–१ विकेट हात पारे।


